शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

दुप्चेश्वर महादेव मेला : बेहुली झैँ सिंगारियो दुप्चेश्वर

मन्दिरको मुख्य गर्भगृहभित्र प्रवेश गर्दा चिसो ढुंगाको स्पर्श, धूपको सुवास र ‘ॐ नमः शिवाय’ को अलि–अलि गुञ्जनले वातावरण नै दिव्य बनाउँछ।

नुवाकोटको समुन्द्रटार हुँदै जब बाटो दुप्चेश्वर मन्दिरतर्फ उक्लिन थाल्छ, वायुमण्डल नै भिन्न अनुभूति दिन थाल्छ। हुस्सुमा टल्किएको पहाड, देवदार र फुलको सुगन्ध, अनि यात्रुहरूको शान्त तर उत्साहित मुहार— सबैले संकेत गर्छन्, “दुप्चेश्वर महादेवको पाँच दिने विशेष मेला सुरु भइसकेको छ।” नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ मा अबस्थित यस  मन्दिरमा अहिले एकैथरी रौनक छ। मङ्सिर धान्यपुर्णिमामा दुप्चेश्वर महादेव मेला सुरु भएपछि दुप्चेश्वर क्षेत्र बेहुलीझैँ सिँगारिएको छ। मन्दिर परिसरदेखि दुप्चे खोला किनारसम्म रंगीन धजा, फूलमाला र झिलिमिलीबत्तीले भरिएको वातावरणले भक्तजनलाई दिव्य संसारमा प्रवेश गराएको अनुभूति दिन्छ। उकालो काटेर मन्दिर परिसर नजिकै पुग्दा लाग्छ— मानौँ पुरै गाउँ नै बेहुली बनेको छ। 

रंगीचंगी कपडाका धजाहरू हावामा फर्फराइरहेका छन्, नदिसम्म झर्ने ढुंगाका सोपानहरू फूलको मालाले छोपिएका छन्, मन्दिरको सुनौलो गजुरमा घाम परेर चम्किएको झल्को यात्रुको अनुहारमा पर्छ। धार्मिक मान्यताअनुसार करिब पाँच सय वर्षअघि स्थानीय एक तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्य पूर्णिमाका दिन विशेष मेला लाग्दै आएको छ । जात्रा हेर्ने र दर्शन गर्ने दर्शनार्थीहरुको यो बेला ठुलो भिड समेत लाग्ने गरेको छ । पशुपतिनाथको दोस्रो रुप मानिने दुप्चेश्वर महादेवलाई “मागेको पुग्ने, आटेको पूरा हुने देवता” का रूपमा विश्वास गरिन्छ। 

किमदन्ति अनुसार समुन्द्रमन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटीएका महादेव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा वास बसेर रसुवाको गोसाइँकुण्ड गएको उल्लेख छ । दुप्चेश्वर महादेवलाई सानो पशुपतिनाथको रूपमा पुज्ने गरिन्छ । मेलाको विशेष रौनक चतुर्दशी र पूर्णिमाको दिन हुने गर्दछ । जोडी जुराउन र सन्तान माग्नकै लागी पनि यहाँ हजारौ भक्तजनहरु आउने गर्दछन् । सन्तान नभए सन्तान दिने (बिशेष - छोरा ) , चौपायाहरू नब्याएमा दाम्लो चढाएमा गर्भाधान हुने, बालबालिकको बोली नफुटेमा बोली फुट्ने , आफुले चिताएको कुरा माग्दा पाइने लगायतका जनविश्वासमा भक्तजनहरू आउने गरेका छन् । हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा यस दुप्चेश्वर महादेवलाइ मान्दै आएका छन् । त्यसैले यहाँको पहाड, खोला र वन पनि ‘महादेवको पहरेदार’ मानिन्छ। 

मन्दिरको मुख्य गर्भगृहभित्र प्रवेश गर्दा चिसो ढुंगाको स्पर्श, धूपको सुवास र ‘ॐ नमः शिवाय’ को अलि–अलि गुञ्जनले वातावरण नै दिव्य बनाउँछ। दूर–दराजबाट आएका भक्तजनहरू घण्टी बजाउँदै भन्छन्—“दुप्चेश्वर आएर मागेको मनोकामना पुरा हुने विश्वास छ।” मेलाले धार्मिक यात्रालाई मात्र होइन, सांस्कृतिक उत्साहलाई पनि चुल्याएको छ। यता खोला किनारमा देखिने चिसो खोलामाथि धुँवाको बादल जस्तै उडिरहेको परिकारको सुगन्धले यात्रुलाई सुगन्धित बनाउँछ। मेला हेर्न पुगेका युवाहरू सेल्फी लिन्छन्, परिवारका बुढाबुढी शान्त मनले पूजा गर्छन्, बालबालिका दौडधूपमा रमाइरहेका छन्।

रात पर्नासाथ बत्तीको झिलिमिलीले पुरै क्षेत्र उज्यालो हुन्छ— मानौँ दुप्चेश्वर महादेव आफ्नै भक्तहरूको हर्ष–आनन्द देखेर मुस्कुराइरहेका छन्। गोसाइँकुण्ड जाने पुरानो पैदल तीर्थमार्गमा दुप्चेश्वरलाई मुख्य ‘आशिर्वाद स्थल’ का रूपमा हेरिन्छ। गोसाइँकुण्डका महादेवलाई भेट्न जाने भक्तजन दुप्चेश्वरबाट नै शक्ति र रक्षा प्राप्त गर्छन् भन्ने विश्वास रहेको छ। गोसाइँकुण्ड–दुप्चेश्वरको सांस्कृतिक–धार्मिक सम्बन्धले दुप्चेश्वरलाई राष्ट्रिय तीर्थको रूपमा स्थापित हुँदै लगेको छ । मेला लागेपछि दुप्चेश्वर क्षेत्र साँच्चिकै चटपटे, आकर्षक र आध्यात्मिक केन्द्रजस्तो देखिन्छ। दोस्रो पशुपतिनाथका रूपमा मानिने दुप्चेश्वर र गोसाइँकुण्डको आध्यात्मिक सम्बन्धले यो तीर्थस्थललाई अझ शक्तिशाली, पवित्र र राष्ट्रिय मान्यताको केन्द्र बनाउँदै लगेको छ। 
“दुप्चेश्वर घुमौँ, महादेव भेटौँ”