शुक्रबार, ४ बैशाख २०८३
काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ६० करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै विभिन्न तीनवटा निकायमा एकसाथ उजुरी दर्ता भएको छ । राजधानी दैनिकले गत १६ माघमै निर्वाचन प्रहरी पोसाक खरिदमा ४० करोड रुपैयाँ बढी अनियमितता भएको भन्दै समाचार प्रकाशित गरेको थियो । यो विषयलाई बेवास्ता गर्दै सरकार एक महिनापछिको निर्वाचनमा होमिएको थियो । तर निर्वाचन सम्पन्न भएर निर्वाचन प्रहरीका पोसाकसहितको सेवा सुविधासहितको रकम भुक्तानी प्रक्रिया सुरु भएको दुई महिनापछि ३० चैत २०८२ मा सरकारका तीन निकायमा एकसाथ ‘भ्रष्टाचारमा संलग्नमाथि कारबाही माग गर्दै’ उजुरी दर्ता गरिएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह, संसद्को सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको उजुरीमा निर्वाचन प्रहरी पोसाक खरिदका लागि छुट्याइएको एक अर्ब रुपैयाँमध्ये ४० करोड रुपैयाँ खर्च गरेर ६० करोड रुपैयाँ तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, प्रहरीको प्रशासन विभागमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्व अधिकारी र पोसाक खरिदमा संलग्न ठेकेदार कम्पनीविरुद्ध उजुरी दर्ता भएको हो । अख्तियारमा ३० चैतमा सी–०५६४३४ नम्बरमा पीडित निर्वाचन प्रहरी र राष्ट्रसेवक प्रहरीको नाममा दर्ता भएको उजुरीमा तत्कालीन गृहमन्त्री अर्याल र वर्तमान प्रहरी महानिरीक्षक कार्कीविरुद्ध आर्थिक लेनदेनको गम्भीर अभियोगसहित प्रमाणसमेत पेस गरिएको छ । उजुरीलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान अयोगका सहन्यायाधिवक्ता शम्भु कार्कीको नेतृत्वमा छानबिनसमेत सुर भएको छ ।
उजुरी दर्ता भएलगत्तै गृहमन्त्री सुधन गुरुङसमक्ष ठेकेदार र पोसाक खरिद अनियमिततामा जोडिएका प्रहरी अधिकारीले आफू संलग्न नभएको भन्दै अनुनय गर्न थालेपछि गृहमन्त्रीकै निर्देशनमा अख्तियारले गम्भीर छानबिन अघि बढाइसकेको जनाइएको छ । निर्वाचन सुरक्षा प्रयोजनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीले लगाउने पोसाक खरिदमा प्रहरीले सीमित ठेकेदारसँग सेटिङ गरेर लागत तथा बजार मूल्यभन्दा अस्वाभाविक मूल्यमा पोसाक खरिद गरेर भ्रष्टाचार गरेको भन्दै राजधानीले यसअघि नै समाचार प्रकाशन गरेको थियो । निर्वाचन प्रयोजनका लागि गरिने खरिदमा सार्वजनिक खरिद ऐनअनुसार ठेक्का प्रक्रिया गर्नु नपर्ने व्यवस्थाको फाइदा उठाउँदै प्रहरीले सीमित ठेकेदारलाई सेटिङमा पोसाक आपूर्तिको जिम्मा दिएको थियो । आजको राजधानी दैनिकमा समाचार छ।