आत्महत्या गरेका पत्रकार शालिकरामले भिडियोमा बोलेकी युवती अस्मिता पक्राउ

                               

काठमाडौं । चितवनको एक होटलमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा आफूलाई मर्न बाध्य पार्ने युवती भन्दै नाम लिएका अस्मिता कार्की पक्राउ परेकी छिन्।

राजधानीको एक अस्पतालमा नर्स रहेकी ती युवतीलाई चितवन प्रहरीले पक्राउ गरेको हो। कार्की आफ्नो प्रेमिका रहेको र पछिल्लो समय उनीसँग सम्बन्ध राम्रो नरहेको पुडासैनीले भिडियोमा बताएका थिए।

भिडियोमा पुडासैनीले आफूलाई रवि लामिछाने, कार्की र युवराज कँडेलले मर्न बाध्य बनाएको आरोप लगाएका छन्। रवि चर्चित टेलिभिजन कार्यक्रम जनतासँग सिधा कुराका सञ्चालक हुन्। कँडेल पनि सोही कार्यक्रममा काम गर्छन्। पुडासैनी पनि केही समयअघिसम्म सोही कार्यक्रमको ‘टिम मेम्बर’ रहेका थिए।

चितवनका एसपी दानबहादुर मल्लका अनुसार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा किटानी जाहेरी आइसकेको छैन।