वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

                               

काठमाडौं । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज (बिहीबार) बिहान निधन भएको छ।

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी आफ्नै निवास काठमाडौँको कालिकास्थान ल्याइएको थियो।

निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो।

सरकारले वरिष्ठ साहित्यकार दीक्षितको अन्त्येष्टिमा राष्ट्रिय सम्मान प्रदान गर्ने भएको छ ।

सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार विज्ञप्ति निकालेर दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने जानकारी दिएका हुन् ।

नेपालको इतिहासका साक्षी दीक्षितको निधनमा मन्त्री भट्टराईले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण पनि गरेका छन् ।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेदः केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’, ‘विदुषी गार्गी’, ‘विश्वका प्रथम वैज्ञानिक उद्दालक आरुणी’, ‘अमृतत्व र कारूणिकता’, ‘द्राैपती र सीता’ तथा ‘हाम्रा प्राचीन नारी’लगायत ४६ कृति प्रकाशित छन्। उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए।

नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ। उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गौरीधारामा भएको थियो। उनका श्रीमती, तीन छोरा र एक छोरी छन्। उनका नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

पत्रकार कनकमणि दीक्षितले ट्वीट गर्दै मदनमणिको निधन भएको जनाएका छन्। उनको पार्थिक शरीर अहिले निवासमै राखिएको छ।

वि.सं. २००८ को वैशाखदेखि २०४० को कार्तिकसम्म नेपाल कम्युनिस्ट पार्टीको सदस्य रहेका दीक्षितले २०१४ को अन्त्यदेखि पत्रकारको रुपमा काम गरेका थिए।

आफ्नो सम्पूर्ण जीवनलाई सफल ठान्ने उनी नेपाल प्रज्ञा प्रतिष्ठानमा बिताएको ५ वर्ष (२०५१–०५६) लाई पूर्ण निस्फल मान्दथे। अध्ययन र लेखनमा समर्पित जीवन बिताएका दीक्षका ४ छोरा र १ छोरी छन्। दीक्षितका प्रकाशित केही कृतिहरू

१. माधवी (उपन्यास, वि.सं. २०३९)
२. चरैवेति (निबन्ध संग्रह, २०४४)
३. त्यो युग (निबन्ध संग्रह, वि.सं. २०४७)
४. हाम्रा ती दिन (निबन्ध, वि.सं. २०२९)
५. म रुँदै बिर्सन्छु (संस्मरण, वि.सं. २०२७)
६. बर्लिन डायरीका पाना (यात्रावर्णन, सन् १९८४)
७. लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्
८. मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ
९. कसले जित्यो कसले हार्‍यो? (कथा संग्रह, वि.सं.२०२१)
१०. दशलाख हिरोसिमातिर
११. ग्यास च्याम्बरको मृत्यु (कथा संग्रह, सन् १९८५)
१२. जीवन महाअभियान
१३. ऋग्वेदः केही प्रमुख सूक्त (२०६५ वि.सं)

उनले समीक्षा साप्ताहिकको सम्पादक भएर काम गरेका थिए। लेखकको रुपमा उनी पछिल्लो समयसम्मै सक्रिय थिए।