निर्माणाधिन माथिल्लो त्रिशूली थ्री बीमा करेन्ट लागेर एकको मृत्यु

                               

काठमाडौं । नुवाकोटमा निर्माणाधिन माथिल्लो त्रिशूली थ्री बीमा करेन्ट लागेर बिहीबार बिहान एकको मृत्यु भएको छ ।

किस्पाङ गाउँपालिका-५ शन्तिबजार क्षेत्रमा निर्माणाधिन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्माण सामाग्री ट्रिपरमा भर्ने क्रममा ट्रिपरका सहचालक रसुवाको कालिका गाउँपालिका–२ घर भएका १९ वर्षीय बिक्रम थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुँयालले जानकारी दिएका छन ।

शान्तिबजारस्थित हिम्दुङ एण्ड थोकर कन्सट्रक्सनको क्रसर उद्योगमा ट्रिपरको ढाला खोलेर बालुवा भर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिङलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक थिङ बा।४ ख ८७१८ नं। को ट्रिपरका सहचालक हुन् । ट्रिपरको सहचालकको करेन्ट लागेर मृत्यु भएपछि उक्त गाडीका चालक विष्णुबहादुर थिङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।