पूर्वी नेपालमा डेंगुको संक्रमण बढ्दो, धरान सबैभन्दा बढी प्रभावित

                               

काठमाडौं। पूर्वी नेपालमा डेंगु देखापरेको तीन महिना बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । खासगरी तीन तहका सरकारबीच समन्वय प्रभावकारी नहुँदा डेंगु नियन्त्रणको काम निस्प्रभावी देखिएको छ । यो अवधिमा दुई जनाको डेंगु संक्रमणबाट मुत्यु भएको छ ।

३१ वैशाखमा सुनसरीको धरानमा पहिलो पटक डेंगुको विरामी फेला परेका थिए । पछिल्लो समय डेंगुबाट सुनसरीसहित झापा र मोरङ गरी तीन जिल्लामा करिब ५ हजार मानिस बिरामी छन् ।

२०६०र६१ मा मुलुकमा पहिलो पटक डेंगुको विरामी फेला परेका थिए । विगत वर्षहरूमा बाँके, कास्की, चितवन लगायत जिल्लामा डेँगु देखापरे पनि तत्कालै नियन्त्रणमा आएको थियो । यस वर्ष सुनसरी, मोरङ र झापा जिल्लाका साथै पूर्वी पहाडी जिल्लाहरु पाँचथर र भोजपुरमा पनि डेंगुका विरामी फेला परेका छन् । पाँचथर र भोजपुरमा पहिलो पटक डेंगुका विरामी भेटिएका हुन् । यसबाट तराई मधेसका जिल्ला मात्र होइन, पहाडी जिल्ला पनि डेंगुको जोखिममा रहेको बुझ्न सकिन्छ ।

लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्छ । यसअघि चिकित्सकले ‘एसिड एजिप्टाई’ जातको पोथी लामखुट्टेले मात्र धरानमा डेंगु रोग सारेको बताउँदै आएका थिए । विजयपुरको वडा कार्यालय नजिकै होटलले जम्मा गरेको पानीमा पहिलो पटक ‘एडिस एल्बो पिकस’ जातको लामखुट्टेका अन्डा, लार्भा र प्युपा फेला परे । यसलाई चिकित्सकहरुले डेंगु सार्ने नयाँ जातको लामखुट्टे भनेका छन् ।

चिकित्सकका अनुसार एजिप्टाई बढी सक्रिय हुने र एकसाथ चार–पाँच जना मानिसलाई टोक्न सक्ने भए पनि पिकस भने केही लोसो हुने भएकाले कमलाई मात्रै टोक्न भ्याउँछ ।
डेंगुबाट सबैभन्दा बढी धरानका बासिन्दा प्रभावित छन् । हरेक घरमा डेंगुका बिरामी छन् । कुनै घरमा त सात जनासम्म संक्रमित पाइएका छन् । सम्भवतः अहिले नेपालकै सबैभन्दा बढी डेंगुबाट प्रभावित क्षेत्र हो धरान ।

धरानमा फैलिएको डेंगु नियन्त्रणका लागि बेलैमा प्रभावकारी रूपमा अभियान सञ्चालन नगरेको आरोप धरान उपमहानगरपालिकाले खेप्दै आएको छ । उपमहानगपालिका भने स्थानीय आफैं जागरुक नभएसम्म समस्या नसुल्झिने निश्कर्षमा पुगेको छ ।
धरान उपमहानगरपालिकाकी कार्यवाहाक मेयर मञ्जु भण्डारीले डेंगुु सार्ने लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान जारी राखे पनि खासै प्रभावकारी नभएको बताइन् । ‘नगरबासी आफैं जागरुक नभएसम्म डेंगु नियन्त्रणको च्यालेन्ज रहीरहन्छ,’ उनले भनिन्, ‘नगरबासीले घर सफा गर्ने, पानी जम्न नदिने, लार्भा नष्ट गर्ने उपाय नअपनाएसम्म डेंगुको जोखिमबाट धरान मुक्त हुन सक्दैन ।’

विशेषज्ञलगायत अन्य जनशक्ति केन्द्र सरकारसँग छ । तर स्वास्थ्यसम्बन्धी धेरै जिम्मेवारी स्थानीय तहमा छ । स्थानीय सरकारसँग आफ्नै विशेषज्ञ नहुनु, कहाँ र कसरी समन्वय गर्ने भन्ने अन्यौल हुनुले पनि महामारी नियन्त्रणमा तालमेल भइरहेको छैन । प्रदेश सरकार र स्थानीय सरकार डेंगु नियन्त्रणमा लागेको बताइरहे पनि दुई सरकारको डेंगु नियन्त्रणमा गरेको प्रयास निस्प्रभावी देखिएको छ ।

धरानमा डेंगुबारे सचेतना फैलाउने काम सँगसँगै लामखुट्टे मार्नका लागि सर्च एण्ड डिस्ट्रोय टोली परिचालन गरिएको छ । यसका लागि उपमहानगरपालिकाले ३० लाख बढी बजेट खर्च गरिसकेको कार्यवाहक मेयर भण्डारीको भनाइ छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अधिकारीले पनि सचेतना अभियानमा ३० लाख रुपैयाँ खर्च गरिएको बताउँछन् । तर, कार्यवाहक मेयर भण्डारीले भने त्यसबारे आफूलाई जानकारी नभएको बताइन् । उनले भनिन्, ‘प्रदेश सरकारले डेंगु नियन्त्रणका लागि कहाँ कसरी अभियान चलाएको छ, धरान उपमहानगरपालिकाको कार्यवाहक मेयरको हैसियतमा मेरो नोटिसमा छैन ।’

दुवै सरकारले डेंगु नियन्त्रणका लागि आवश्यक योजना बनाएर काम गर्न नसक्दा डेंगुले भयावह स्थिति निम्तिएको स्थानीयको बुझाइ छ । नेपाली कांग्रेस सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङले डेंगु देखापरेको शुरुवाती चरणमा नै यसको नियन्त्रणका लागि प्रदेश र नगर सरकारले प्रभावकारी कदम नचालेका कारण संक्रमण बढेको बताए । सचिव तामाङले भने, ‘डेंगुले भयावह रुप लिएपछि सरोकारवाला निकाय तातिए पनि नियन्त्रण विधिको योजना नबनाई अभियान चलाइएको थियो, जुन प्रभावकारी बनेको देखिएन ।’