शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

‘सुशासन’को ब्रान्डले जित्यो मन : नितिशले फेरि मोडिदिए बिहारको रुझान

मुस्लिमसहित परम्परागत रूपमा एनडिएप्रति शंकालु समुदायहरूले समेत विकासमुखी योजनाले प्रभावित भई नितिशमाथि भरोसा पुनः स्थापित गरेको देखिन्छ।

सन् २०२५ को बिहार विधानसभा चुनाव मुख्यमन्त्री नितिश कुमारका लागि दुई दशकभन्दा लामो राजनीतिक यात्राको निर्णायक मोड बनेको छ। विगत २० वर्षदेखि राज्यको राजनीतिक ध्रुवीकरणलाई आफू–वरिपरि केन्द्रित राख्दै आएका नितिशले यसपटक पनि विकास, सुशासन र समावेशी नीतिका आधारमा मतदाताको भरोसा कायम राख्न सफल देखिएका छन् । विपक्षीहरूले उनलाई ‘पल्टु राम’को उपनाम दिए पनि नितिश कुमारले जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने योजनाहरू कार्यान्वयन गर्दै ग्रामीण पूर्वाधार, सामाजिक सुरक्षा र आर्थिक समावेशीतामा निरन्तर काम गरेका छन्। 

पछिल्लो समय विधवा, वृद्ध र अपाङ्गता भएका नागरिकका लागि पेन्सन, विद्यालयका गार्ड र पिटी शिक्षकको तलब दोब्बर, करिब एक करोड महिलालाई प्रत्यक्ष १० हजार रुपैयाँ सहयोग लगायतका योजनाले जनस्तरमा उल्लेख्य प्रभाव पारेका छन्। यही कारण उच्च जाति, कुशवाहा, पासवान, मुसहर, मल्लाहदेखि मुस्लिम समुदायसम्म समर्थन विस्तार भएको देखिन्छ। विकास–केन्द्रित शासनशैली, शिक्षा–स्वास्थ्यमा देखिएका मूर्त सुधार तथा सीमान्तकृत समुदायसम्म पुगेको सरकारी पहुँच नितिशको स्थिर लोकप्रियताको मुख्य आधार बनेका छन्। 

बदलिँदो राजनीतिक परिस्थितिलाई चतुरतापूर्वक बुझेर अनुकूलन गर्ने उनको क्षमता आज जेडीयू र एनडिए दुवैका लागि ठूलो शक्ति बनेको छ। चुनावी प्रारम्भिक नतिजाले पनि यिनै आधारलाई पुष्टि गरिरहेको छ। बिहान ११ बजेसम्म जेडीयू ७७ सिटमा अगाडि रहँदा एनडिए १८० सिटभन्दा बढीमा अग्रता लिएर स्पष्ट बहुमतको संकेत दिइरहेको थियो। सन् २०२० को तुलनामा जेडीयूले ३४ सिट बढीको अग्रता लिनु ‘२५ से ३०, फिर से नितिश’ नाराको प्रभाव जनताको मतमा जमेको प्रमाण हो। यसपटक ६७.१३ प्रतिशतको ऐतिहासिक मतदान रेकर्ड  भएको छ, जसलाई विश्लेषकहरूले सत्ता विरोधी भन्दा पनि प्रतिस्पर्धात्मक उत्साहको नतिजा मानेका छन्। 

मुस्लिमसहित परम्परागत रूपमा एनडिएप्रति शंकालु समुदायहरूले समेत विकासमुखी योजनाले प्रभावित भई नितिशमाथि भरोसा पुनः स्थापित गरेको देखिन्छ। जेपी आन्दोलनमा सक्रिय भूमिकादेखि जनता पार्टी, केन्द्रीय सरकार हुँदै रेलमन्त्रीका रूपमा सामाजिक उत्तरदायित्वमा आधारित निर्णयहरू कार्यान्वयन गर्ने नितिशले राष्ट्रिय स्तरमै पहिचान बनाइसकेका छन्। सन् २००० मा केवल सात दिन टिकेको पहिलो मुख्यमन्त्री कार्यकालबाट सुरु भएको यात्रा २००५ पछि स्थिरतामा रूपान्तरण भई आज उनी बिहार इतिहासका सर्वाधिक दीर्घकालीन मुख्यमन्त्रीमध्ये उभिएका छन्।यदि यसपटक पनि पुनः सत्तामा फर्किए, नितिश कुमार सिक्किमका पवन चामलिङ, ओडिसाका नवीन पटनायक र पश्चिम बंगालका ज्योति बसुजस्ता दीर्घकालीन प्रभावशाली मुख्यमन्त्रीहरूको श्रेणीमा प्रवेश गर्नेछन्।