शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

हेलिकोप्टर उडाउनै नमिल्ने हेलिपोर्ट बनाएर भ्रष्टाचार

अख्तियारले अधिकारीसहित ६ जना र परामर्शदाता कम्पनीलाई समेत प्रतिवादी कायम गरेर बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा साढे १३ करोड भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध हेलिपोर्ट निर्माण गर्दा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँबराबरको सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको कसुर छ । 

अख्तियारले अधिकारीसहित ६ जना र परामर्शदाता कम्पनीलाई समेत प्रतिवादी कायम गरेर बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । साढे १७ करोड लागत अनुमानमा तयार गरिएको हेलिपोर्ट हालसम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । यद्यपि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलोमिटर पूर्वमा रहेको हेलिपोर्ट ७ असार ०८१ देखि व्यावसायिक सञ्चालनका लागि खोलिएको थियो ।

सञ्चालनयोग्य नरहेको, असुरक्षित र अनुपयुक्त स्थानमा व्यावसायिक योजना, लाभ, लागत विश्लेषणविना अस्वाभाविक रकम खर्च गरी हेलिपोर्ट निर्माण गरेको देखिएको अख्तियारको निष्कर्ष छ । यस्तै, बदनियतपूर्ण तरिकाले हेलिपोर्ट आयोजना अघि बढाएको, कानुन पालना नगरेको र अनेकौँ प्रक्रियागत त्रुटिसमेत भएको अख्तियारले औँल्याएको छ । उद्देश्यअनुरूप हेलिपोर्ट सञ्चालनमा आउन नसकेकाले सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी तथा दुरुपयोग भएको तथ्य पुष्टि भएको अख्तियारको ठहर छ ।

हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेकामा प्रतिवादी कायम गर्दै प्राधिकरणका महानिर्देशक अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीलाई अख्तियारले पक्राउ नै गरेर मुद्दासहित अदालतमा उपस्थित गराएको छ । प्राधिकरणका प्रबन्धक नलबिक्रम थापा र उपप्रबन्धक इन्जिनियर सवृद्धि श्रेष्ठ पनि प्रतिवादी छन् । उनीहरू सबैविरुद्ध जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो छ । यही नै संयुक्त बिगो कायम गरेर अख्तियारले परामर्शदाता गुरुदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ प्रालि तथा उक्त कम्पनीका तत्कालीन सञ्चालक विजय थापाविरुद्ध पनि मुद्दा दायर गरेको छ । 

अधिकारीविरुद्ध धेरै उजुरीउपर अख्तियारले छानबिन गरिरहेको छ । छानबिनका क्रममा बयानका लागि उनलाई बुधबार अख्तियारले केन्द्रीय कार्यालय टंगालमा डाकेको थियो । नियमित तारेखका क्रममा उनी अख्तियार पुगेका थिए । बयान दिन अख्तियार पुगेका व्यक्तिलाई पुन: अर्कोपटक बयानका लागि उपस्थित हुन अनुसन्धान अधिकृतले तारेखपर्चा खडा गरेर तारेखभर्पाईमा हस्ताक्षर गराउने अभ्यास हुन्छ । 

यसै सिलसिलामा अधिकारी नियमित तारेखमा अख्तियार पुगेका थिए । यही मौकामा अख्तियारले अधिकारीलाई नियन्त्रणमा लिएर मुद्दासहित विशेष अदालत लिएर गएको थियो । स्रोतका अनुसार हेलिपोर्टको मुद्दा चलाउने निर्णय अख्तियारले दुई दिनअघि नै गरिसकेको थियो । पछिल्लो समय विशेष अदालतले मुद्दासहित प्रतिवादी उपस्थित नगराएको भन्दै बारम्बार टिप्पणी गरिरहेको अख्तियारका अधिकारीहरू बताउँछन् । यसपछि अख्तियारले यथाशक्य प्रतिवादीलाई पक्राउ गरेर अदालतमा उपस्थित गराउने अभ्यास थालेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।