३० हजारमा एचआईभी संक्रमण , शून्यमा झार्ने सरकारी लक्ष्यमा गम्भीर प्रश्न

  • प्रकाशित मिति : आइतवार, मंसिर १५, २०७६
  • न्युज बिहानी

सरकारले सन् २०३० सम्ममा जनस्वास्थ्य समस्याका रूपमा रहेको एचआइभी एड्स लाग्नेहरूको संख्या शून्यमा झार्ने लक्ष्य लिए पनि कार्यक्रम प्रभावकारी तरिकाले अघि बढ्न नसकेको देखिएको छ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले एचआईभी संक्रमण हुने व्यक्तिहरूको संख्या घट्दै गए पनि कार्यक्रम लक्ष्यअनुसार प्रभावकारी तरिकाले अघि बढ्न नसकेको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गत राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार २९ हजार ९ सय ४४ जनामा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ । जसअन्तर्गत पुरुषको संख्या १७ हजार ७ सय ३२ र महिलाको संख्या १२ हजार २ सय १२ जना रहेका छन् ।



एचआईभी एड्स कार्यक्रम सञ्चालनका लागि ५४ करोड ६९ लाख बजेट विनियोजन गरिएको छ । सो रकम औषधि खरिद, संक्रमण भएका व्यक्तिहरूको उपचार, तालिमलगायतमा खर्च गरिने केन्द्रले जनाएको छ ।नेपालमा झन्डै ७६ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सर्ने गरेको केन्द्रले जनाएको छ । नेपालको कुल जनसंख्याको १ प्रतिशतभन्दा कममा एचआईभी संक्रमण रहेको छ ।

नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोगकर्ता, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगीहरू, रोजगारीका लागि बिदेसिनेहरू र जेलका कैदीहरू एचआईभी संक्रमणको उच्च जोखिममा छन् ।विश्वको तथ्यांकअनुसार सन् २०१० देखि सन् २०१८ सम्ममा १६ प्रतिशतले नयाँ संक्रमितको दरमा कमी आएको छ । यसमा ४१ प्रतिशतमा बच्चामा हुने संक्रमण दरमा कमी आएको छ । आजको राजधानी दैनिकमा समाचार छ।