२३३ यात्रु बोकेको जहाज मकैबारीमा आपतकालीन अवतरण

                               

काठमाडौैं । २ सय ३३ जना यात्रु बोकेको एउटा रुसी जहाज मस्को नजिकै आपतकालीन अवतरण गराइएको छ ।

चराहरुको हूल जहाजको इन्जिनमै ठोक्किँदा दुबै इन्जिन बन्द भएपछि आपतकालीन अवतरण गराउनु परेको बताइएको छ । उरल एयरलाइन्सको ए ३२१ एयरबस २ सय २६ यात्रु र सातजना चालकदलका सदस्यसहित मस्कोको जुकोब्सकी एयरपोर्टबाट सिम्फेरोपोल एयरपोर्टका लागि उँडेको थियो ।

‘चराका कारण दुबै इन्जिन बन्द भए । यसैले गर्दा रनवेबाट एक किलोमिटर टाढा नै अवतरण गराउनुपरेको हो,’ एयरलाईन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसरी आपतकालीन रुपमा मकैको खेती गरिएको जमिनमा नै जहाज अवतरण गराइएको हो । इन्जिन अफ भएपछि तत्कालै मकै खेती भएको खुला जमिनमै अवतरण गराइएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार नौ बालबालिका सहित २३ जना घाइते भएका छन् । स्थानीय मिडियाले यस्तो अवतरणलाई ‘चमत्कारिक रुपमा गराइएको अवतरण’ भनेका छन् ।