मैले पनि हलो जोतेर खेती गरेको छु : प्रधानमन्त्री

  • प्रकाशित मिति : बुधबार, अशोज ८, २०७६
  • न्युज बिहानी

प्रधानमन्त्री केपी ओलीले आफुलाई जमीन, सिँचाइ र उत्पादनबारे राम्रोसँग ज्ञान भएको बताएका छन्  । ओलीले आफ्नो युवा उमेर सम्झँदै -सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा समेत  धेरै उत्पादन गराएर लाभ लिन सकिने कुरामा किसान नेताहरुलाइ  बताए  । ओलीले गृह जिल्ला झापाको छिमेकी जिल्ला इलामले हरेक कान्ला र जमीनको टुक्रोलाई सदुपयोग गरेको बताउदै मेहनत गरेमा ठूला घोगा मकै र झपक्क धानको बाला झुलाउन सकिने बताए ।

नेपालको कूल क्षेत्रफलको २८ प्रतिशत भूमि (करीब ४१ लाख २१ हजार हेक्टर) कृषिभूमि रहेकामा सिँचाइको असुविधाका कारण हाल  २६ लाख ४१ हजारमा मात्र खेती गरिएको छ । प्रधानमन्त्री ओलीले (नेकपा) निकट अखिल नेपाल किसान महासङ्घको प्रथम केन्द्रीय कमिटीको बैठक र शपथ ग्रहण समारोहलाई बुधबार ललितपुरको धोबीघाटमा सम्बोधन गर्दै कृषिमा आधुनिकीरण र व्यावसायीकरणका लागि सरकारले चलाएका पहलबारे  जानकारी समेत दिएका थिए ।



उनले भने- हामीले प्रधानमन्त्री कृषि आधुनिकरण लगायत कार्यक्रम मार्फत यस क्षेत्रलाई अगाडि बढाउन खोजेका छौँ । हाम्रो संयन्त्र र विज्ञलाई जमीनको एक टुक्रो पनि खाली नहुने गरी नयाँ प्रविधिका साथ जमीनलाई चक्लाबन्दी वा सामूहिक खेतीतर्फ लान खोजेका छौँ । त्यस्तै प्रधानमन्त्री ओलीले कम्युनिष्टहरु झगडा गर्न र फुट्न मात्रै जान्दछन् भन्ने आरोप लागेका बेला आफूहरुले एकता गरी सामान्यत बहुमत आउन गाह्रो हुने वर्तमान निर्वाचन प्रणालीमा पनि केन्द्रमा ६४ प्रतिशत मतसहित सरकार बनाएको बताए ।

कृषि क्षेत्रलाई सरकारले दिने अनुदान र राहतमा निरन्तरता हुने पनि ओलीले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले लामो समयको बलिदान र सङ्घर्षपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारीसँगै स्थिर सरकार सुशासन र विकासको बाटोमा लागेको र नेकपाको एकता प्रक्रियामा पूर्णतामा केही ढिलाइ भए पनि अब टुङ्गिएकाले पार्टीले गति लिने बताए ।