सञ्चालनमा रहेकामध्ये ४१ विमानस्थल घाटामा, ८ नाफामा

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २९, २०७६
  • न्युज बिहानी

नेपालमा सञ्चालनमा रहेका ४९ विमानस्थलमध्ये ४१ विमानस्थल घाटामा सञ्चालन भइरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७५र७६ मा ती विमानस्थलबाट सरकारले २० करोड रुपैयाँभन्दा बढी घाटा व्यहोर्नुपरेको छ । कर्मचारीको पारिश्रमिकलाई पनि गणना गर्ने हो भने घाटा रकम दोब्बर हुने प्राधिकरणको अनुमान छ । विमानस्थलका कर्मचारीको पारिश्रमिक गणना नगर्ने हो भने ३२ वटा विमानस्थल घाटामा सञ्चालन भइरहेको प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले बताए । उनका अनुसार घाटामा गएकामध्ये १२ वटा विमानस्थलको तथ्यांक प्राधिकरणसँग नै छैन ।

प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार नेपालमा अन्तर्राष्ट्रिय एक, आन्तरिक मुख्य चारवटा र अन्य आन्तरिक ४४ वटा विमानस्थल छन् । त्यस्तै, ७ वटा आन्तरिक विमानस्थल र २ वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छन् । एउटा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययनको क्रममा छ । विमानस्थलले वायुसेवा कम्पनीलाई सेवा दिएबापत विभिन्न शीर्षकमा शुल्क लिन पाउने व्यवस्था छ । त्यस्तै, विमानस्थल परिसरभित्र कारोबार गर्ने विभिन्न संस्थाबाट पनि शुल्क लिन पाउने प्रावधान छ । यद्यपि, कतिपय विमानस्थलमा लामो समयदेखि व्यावसायिक उडान नहुँदा सरकारले नोक्सानी व्यहोर्नुपरेको हो । नयाँ पत्रिका दैनिकमा समाचार छ।