बहुमूल्य प्याज : ६ अर्बको आयात, दुई करोडको निर्यात

  • प्रकाशित मिति : आइतवार, मंसिर १५, २०७६
  • न्युज बिहानी

प्याजको चिन्ता किन ?
१.भन्सारमा ३५ रुपैयाँ किलोको दरले मूल्यांकन गरेर ल्याएको प्याज बजारमा दुई सय ५० रुपैयाँमा बिक्री, भन्सार छलिँदा आँखा चिम्लिने सरकार उपभोक्ता ठगिँदा मूकदर्शक
२.वर्षमा ६ अर्बको प्याज आयात हुँदा एक करोड ८९ लाख रुपैयाँको मात्र निर्यात भएको छ, प्याजको उत्पादन बढाउन र आयात घटाउन कृषि मन्त्रालयसँग कुनै योजना छैन

औद्योगिक तथा मेसिनरी वस्तुमा मात्रै होइन, आफैँले करेसाबारीमा उत्पादन गर्न सक्ने तरकारीमा समेत नेपाल परनिर्भर छ । प्याज एक उदाहरण हो । वार्षिक करिब ६ अर्ब रुपैयाँबराबरको प्याज आयात हुँदा एक करोड ८९ लाखको मात्रै निर्यात भएको छ ।



भन्सार विभागका अनुसार आव ०७५र७६ मा एक लाख ७८ हजार क्विन्टल प्याज आयात भयो । यसरी आयात गर्दा देशले पाँच अर्ब ६२ करोड रुपैयाँ विदेश पठाएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा एक अर्ब ५८ करोड ७७ लाखको ४१ हजार नौ सय क्विन्टल प्याज आयात भएको छ । आयातको बढ्दो ग्राफलाई मूल्यांकन गर्दा चालू आर्थिक वर्षमा ६ अर्बको प्याज भित्रने अवस्था छ ।

नेपालमा प्याज सबैभन्दा बढी भारतबाट आयात हुन्छ । दोस्रो बजार चीन हो । समीक्षा अवधिमा भारतबाट एक अर्ब ५६ करोड ४० लाख रुपैयाँबराबरको प्याज आयात भएको छ । त्यस्तै, चीनबाट दुई करोड ३२ लाख रुपैयाँबराबरको प्याज आयात भएको देखिन्छ । त्यसबाहेक नामिबियाबाट समेत नेपालमा प्याज आयात हुने गरेको भन्सार विभागको तथ्यांक छ । यस अवधिमा नामिबियाबाट तीन लाख ८७ हजार रुपैयाँबराबरको १२ क्विन्टल प्याज आयात भएको देखिन्छ । भारतीय बजारमा प्याजको मूल्य अकासिएपछि नेपाली बजारमा समेत प्रत्यक्ष असर परेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।