समाजवादी क्रान्तिका लागि महान् बहस : प्रचण्ड

कहिलेकाहीँ परिस्थितिहरु आकस्मिकता भएर देखापर्दा नेतृत्वले जोखिम उठाउनु पर्ने अवस्था आउँछ

  • प्रकाशित मिति : सोमवार, पुस ३, २०७४
  • न्युज विहानी

सशस्त्र क्रान्तिमार्फत सामाजिक रुपान्तरणको नेतृत्व गरेको हाम्रो पार्टी र संसदीय अभ्यास गरिरहेको पार्टी नेकपा एमालेबीच पार्टी एकीकरण गर्ने उद्देश्यसहित भएको तालमेलको निर्णय सैद्धान्तिक दृष्टिले सामान्य निर्णय होइन । लामो समयसम्म फरक–फरक राजनीतिक धारमा क्रियाशिल रहेका दुइ पार्टीहरुका बीचमा भएको यसप्रकारको सहमतिले चौतर्फी प्रश्न र तरङ्गहरु फैलिएको छ । यसको राष्ट्रिय र अन्र्तराष्ट्रिय व्यापकता र प्रभाव आगामी दिनमा देखिदै जानेछ । हाम्रो विरोधी ध्रुवमा मात्र नभएर आफ्नै पंक्तिभित्र समेत यसले थुप्रै प्रश्नहरु जन्माएको छ । यति ठुलो निर्णय पार्टीभित्र संस्थागत बहस, छलफल नै नगरी नेतृत्वले आकस्मिक रुपमा गर्दा कतिपय कमरेडहरुलाई आश्चार्य लाग्नु स्वभाविकै हो । नेतृत्वले आकस्मिक रुपमा गरेको यसप्रकारको निर्णयले कतिपय कमरेडहरुलाई अझै पनि चिन्तित बनाएको छ । यस्तो निर्णय गर्दा पार्टीको कमिटिहरुमा व्यापक छलफल र बहस हुनुपर्ने चिन्तालाई सैद्धान्तिक रुपमा जायज मान्न सकिन्छ । तर, कहिलेकाहीँ परिस्थितिहरु आकस्मिकता भएर देखापर्दा नेतृत्वले जोखिम उठाउनु पर्ने अवस्था आउँदोरहेछ । यस्ता खासखास ऐतिहासिक क्षणहरुमा जोखिम उठाएर गरिने निर्णयलाई विधिको सिमाभित्र मात्र कैद गर्न हँुदैन ।

निश्चय नै विधि र पद्दतिका हिसावले पार्टीमा व्यापक छलफल मार्फत साझा सहमति बनाएर निर्णय गर्ने तरिका नै जनवादी केन्द्रीयताको एउटा सार्वभौम संगठनात्मक विधि हो । त्यो सिद्धान्तअनुसार हामीले छलफलमार्फत निर्णयहरु सस्थागत गरेर जाने कुरालाई सामान्य सिद्धान्तको रुपमा स्वीकार गर्नुपर्ने हुन्छ । तर, खासखास परिस्थितिमा पार्टी र आन्दोलनको हितका लागि नेतृत्वले आकस्मिकतामा निर्णय गर्नुपर्ने हुन्छ । यद्यपि यस्तो अवस्था अपवादको रुपमा आउने गर्दछ । अहिलेको यो ऐतिहासिक निर्णयलाइ पनि यही अपवादको रुपमा बुझ्नु पर्दछ ।



अहिले बृहत वाम एकताको लागि एकता संयोजन समिति बनाएर तालमेलसहित निर्वाचनमा जाने र निर्वाचनपछि एकता प्रक्रियालाई निष्कर्षमा पुयाउने सहमतिपत्रमा हस्ताक्षर गरेका छौ । यो सहमति नेपालको कम्युनिष्ट आन्दोलनको लागि आफैमा दुरगामी महत्वको छ । कुनैपनि विषयलाई कसरी बुझ्ने भन्ने कुरा सोच्ने तरिकाले निर्धारण गर्दछ । अहिले तालमेल वा पार्टी एकताको प्रयास भइरहँदा मलाइ विगतको एउटा घटनाको स्मरण हुने गर्दछ । २०४६ सालमा जनआन्दोलनको पृष्ठभूमि तयार हँुदै थियो, पञ्चायतविरोधी अन्दोलन अन्तिम उत्कर्षमा पुग्ने तयारीमा थियो । ठीक त्यतिबेला म ३५÷३६ वर्षको उमेरमा एउटा सानो समूह नेकपा मशालको नेतृत्व गर्थें । मैले नेतृत्व सम्हालेको केही दिनमै देशमा आन्दोलनको ठूलो आँधीहुरी आयो ।

त्यतिबेला कम्युनिष्ट आन्दोलनमा दुईवटा धार थियो । एउटा शान्तिपूर्ण आन्दोलनको तरिकाद्वारा पञ्चायतको अन्त्य हुन्छ भन्ने धार र अर्को सशस्त्र सघर्ष गर्नुपर्छ भन्ने धार । सशस्त्र सघर्ष गर्नुपर्छ भन्ने पक्षको नेतृत्व गर्ने हामीहरु शान्तिपूर्ण आन्दोलनका तयारी भइरहेको समयमा सशस्त्र सघर्षको तयारी गरिरहेका थियौँ । त्यसका लागि हतियार किन्ने, विष्फोटक पदार्थ जम्मा गर्ने काम हुँदै थियो । गोरखाको सिरानचोकको जंगलमा फौजी तालिमको आयोजना पनि गरिएको थियो । उक्त तालिममा हाम्रो नेतृत्व पंक्तिका केही साथीहरुले फौजी तालिमसमेत लिएका थियौं । २०४६ सालको जनआन्दोलन यही तिथिमितिमा सुरु हुन्छ भन्ने थाहा पनि थिएन । यसरी एकातिर संसार बदल्नका लागि सशस्त्र क्रान्तिमा जाने हाम्रो तयारी हुँदैथियो भने अर्कोतर्फ जनआन्दोलनको तयारी हुँदैथियो । एकापट्टि सशस्त्र क्रान्तिका तयारी गरिरहेको हाम्रो धार थियो भने अर्कोतिर जनआन्दोलनको तयारी गरिरहेको वामहरुको धार ।

यस्तो विषम परिस्थितिमा मलाई सशक्त ढंगको कम्युनिष्ट पार्टी निर्माण गर्ने प्रश्नबारे गम्भीर ढंगले सोच्न प्रेरित गरेको थियो । सशस्त्र क्रान्ति गर्ने हाम्रो पार्टीसँग सानो समूह छ । चौथो महाधिवेशनपछि अलग हुनुभएका कमरेड निर्मल लामा पनि उतै हुनुहुन्छ । उहाँलाई दक्षिणपन्थीको आरोप लगाइएको छ । उता मोहनविक्रम सिंहलाई अराजकतावादी, व्यक्तिवादको दक्षिणपन्थी अवसरवादको नेपाली आयम भनिएको छ । सशस्त्र क्रान्ति सुरु गर्न तयारी गरिरहेको पार्टी मोटो मशाललाई मध्यपन्थी अवसरवादी भन्दै आलोचना गरिएको छ । एकले अर्कालाई छाला काढने गरी आलोचना गरिए पनि सबैको निर्देशक सिद्धान्त भने माक्र्सवाद, लेनिनवाद माओविचारधारा मान्ने र नयाँ जनवादी क्रान्ति गर्ने कुरा छ । सबैले बल प्रयोग गर्ने कुरालाई स्वीकार गर्दागर्दै पनि एकले अर्कोले गाली गर्दा सिआईएसम्मको आरोप लगाइको छ । त्यतिबेला मैले के महशुस गरे भने यसरी क्रान्ति हुँदैन । नयाँ जनवादलाई मान्ने, माओ विचार मान्ने र बल प्रयोगको सिद्धान्तलाई स्वीकार गर्ने पार्टीहरुबीच एकता गरेर जानुपर्छ । मैले गम्भीरतापूर्वक सच्चा कम्युनिष्टहरुका बीचमा एकता नगरी नयाँ जनवादी क्रान्ति गर्न सकिदैन भन्ने प्रस्ताव राखेँ । नयाँ युवा कमरेडहरुलाई स्मरण मात्र गराउन चाहन्छु– त्यतिबेला पनि हामीले धेरै ठुलो छलफल गर्न पाएका थिएनौ । एकले अर्कोलाई दक्षिणपन्थी मध्यपन्थी, अराजकतावादी भन्थ्यौ । त्यसभन्दा अगाडि बढेर दुश्मनका दलालहरु पनि भन्थ्यौ । त्यतिबेला पार्टी एकता गर्ने कुरा जोखिमपर्ण थियो । पार्टी एकता गर्नुको अर्थ दक्षिणपन्थीसँग एकता गरेको ठहरिन्थ्यो । आजको हालतमा त्यतिबेलाका कमरेडहरु पनि हुनुहुन्थ्यो । उतिबेला दक्षिणपन्थीसँग पार्टी एकता गर्ने कुराले पार्टी डुब्यो भन्ने कमरडेहरु आज यहाँ देखिरहेको छु । पछि सामूहिक निर्णय गरेर अगाडि बढदै जाँदा आलोचना गर्ने कमरेडहरु पनि अगाडि बढ्नु भयो ।

त्यतिबेला हामीले पार्टी एकता गर्ने कुरा मात्र गरेनौ सँगसँगै संसदको उपयोगको पनि कुरा ग¥यौ । हतियार उठाएर तालिम लिईसकेको पार्टी संसदमा जानु र संसदको उपयोग गर्दै विचार मिल्नेसँग एकता गरेर फेरि हतियार उठाएर युद्ध गर्ने निर्णयमा पुग्नु कम जोखिमपूर्ण थिएन । हामीलाई के लाग्यो भने यो जोखिम उठाउन जरुरी छ । संसदमा पुगेर हामीले एकचोटी देश र राष्ट्रका लागि आफ्ना कुरा राख्न जरुरी छ । हामीेलाई विभिन्न समूहमा विभाजित कम्युनिष्टहरुसँग एकता गर्ने र महान् बहसको बीचबाट आफ्नो सशस्त्र क्रान्तिको नीति विकसित गर्न जरुरी छ भन्ने लाग्यो । हाम्रो क्रियाशीलतालाई परिमार्जन गर्न पनि जरुरी थियो । त्यसैले क्रान्तिकारी नेतृत्वलाई स्थापित गर्न जरुरी छ भन्ने मान्यताबाट प्रेरित भएर संसदबाट नयाँ जनवादी क्रान्ति गर्ने कुरा ग¥यौं । एकताबाट ठूलो वैचारिक राजनीतिक बहसमार्फत क्रान्तिकारी नीति र नेतृत्व विकासित गर्ने वातावरण बनेपछि जनयुद्धमा जाने आधार बन्यो ।

एकताकेन्द्र निर्माण गरेर ठूलो वैचारिक छलफल नगरेको भए हामी जनयुद्ध हँुदै आजको यो बहसमा आउन सक्थ्यौँ त ? गम्भीर भएर स्मरण गर्न कमरेडहरुलाई आग्रह गर्दछु । त्यसैले सोच्ने कुरा पनि एउटा राजनीतिक धारा र प्रवृत्ति हो । तीव्रता र गतिशीलतामा सोच्ने कि पूरानै तरिकाले सोच्ने ? क्रमभंगतामा सोच्ने कि यथास्थितिमा रमाउने ? हामीले पहिलो तरिका अपनायौँ र जनयुद्धमा फड्को मा¥यौ । हामीले सोच्ने सही तरिका अपनायौँ र जनयुद्धपछि सुरक्षित ढंगले शान्तिप्रक्रियामा आयौँ । अहिले पनि हामीले एकपटक ठूलै जोखिम मोलेर मात्र समाजवादी क्रान्तिको आधार तयार गर्न सक्छौ । त्यसो त शान्तिप्रक्रियामा आउनु कम जोखिमपुर्ण थिएन । जनयुद्धमा जानु जोखिमपूर्ण हो भन्ने बुझन कुनै गाह्रो छैन । जनयुद्धबाट शान्तिप्रक्रियामा आउने त्यो भन्दा ठूलो जोखिमपूर्ण कुरा थियो । त्यो जोखिम पनि झेल्यौ । पार्टी विभाजनको पीडाबाट पनि गुज्रियौ । अहिले पार्टी एकताको नयाँ शृंखलामा हामी छौ । यो एकताको प्रक्रिया अब उत्कर्षतिर जाँदैछ । थुप्रै पार्टी समूह र व्यक्तिहरु माओवादी केन्द्रमा जोडिने शृंखलाहरु चलेका छन् र चलिरहने छन । ठीक यति बेला पार्टी एकता संयोजन समिति बनाई एमालेसँग एकता गर्न छलफल गर्ने निर्णय गरेका छौ ।

हामी कम्युनिष्टहरु जतिबेला अप्ठ्यारोमा पर्छौ, त्यतिबेला कमजोर हुने र विभाजनमा जाने गरेका छौ । ठूलाठूला संकटको बेला एकताको पहल गर्न सकेका छैनौ । जतिबेला हामी सशक्त हुँदै सकारात्मक दिशातिर अगाडि बढेका छौ, त्यतिबेला हाम्रा नेता कार्यकर्तामा आत्मविश्वास बढ्दै गएको हुन्छ र ठूला ठूला ध्रुवीकरणमा जानसकेका छौ । त्यस्तोबेला हामीले विचार र संगठन दुवैमा सफलता हासिल गरेका छौ । त्यसकारण अहिले हामी एउटा ठूलो ध्रवीकरणको प्रयासमा छौ । अर्थात्, समाजवादका प्राप्तिका निम्ति महान् बहसमा जाँदैछौ । यो पार्टी एकताको बहस केवल एकताका लागि गरिएको अन्तिम बहस होइन । यो संघर्षको अन्त्य पनि होइन । बरु समाजवाद प्राप्तिको लागि सुरु गरिएको महान् बहस र भीषण संघर्षको शुरुआत हो । किनभने एउटा सानो स्तरको बहस, छलफल र संघर्षले समाजवादसम्म पुग्ने विचार र नेतृत्वको विकास सम्भव छैन् । एउटा धाराभित्र मात्र चलाइने संघर्ष र बहसले शक्तिशाली विचार र नेतृत्वको विकास सम्भव छैन् । एउटा धाराभित्र त हामीले विगत ८÷१० वर्षदेखि निरन्तर बहस र संघर्ष चलाइरहेका थियौ । पार्टी बनाउन बल गरेका थियौ । तर, हामी यस्तो भूमरीमा प¥यौँ कि नयाँ पार्टी निर्माण र आन्दोलनमा गति पैदा गर्नुको साटो बरु टुटफुटमा गएर शिथिल बन्न पुग्यौँ । हामीले विचारको विकासका लागि थुप्रै पटक दस्तावेज लेखेर छलफल ग¥यौ । तर, गुणात्मक रुपमा हामीले विचारको विकासमार्फत शक्तिको विकास गरेर राज्यसत्तामा हस्तक्षेप गर्नेे आत्मविश्वास पैदा गर्न सकेनौ । अब गरिने एकताको पहलले हाम्रो आन्दोलनलाई महान बहसतिर उन्मुख गराएको छ । क्रान्तिकारी आन्दोलनमा विचारको विकास गर्नु छ भने संगठनलाई जमेको पोखरीको रुपमा राखेर हुँदैन । एउटा बेगबान नदीको रुपमा लैजानु पर्छ ।

माक्र्सवादका आधारभूत मान्यतालाई दरोसँग पक्रेर समाजको गतिशीलतासँगै हामीले हाम्रो सोच्ने तरिका बदल्नु पर्दछ । एकताको पहलसँगै केही साथीहरुको मनभित्र प्रश्न उठेका छन । के हुन्छ त माओवादी पार्टीको भविष्य ? के हुन्छ त हाम्रो भविष्य ? हाम्रो आन्दोलनको भविष्य के हुन्छ ? हाम्रा सहिदको सपना के हन्छ ? हामी सबै माओवादी एकताबद्ध भएर गयौ भने यी सबै प्रश्नको उत्तर सकारात्मक परिणाममा निकाल्न सक्छौ । हामीले हाम्रो धारालाई अगाडि बढाउदै क्रान्तिकारी आन्दोलनलाई नयाँ उचाइमा उठाउन सक्छौ । कति साथीहरुलाई लागेको छ पार्टी विलय हुने भयो । यहाँ सवाल कसैको कसैमा विलय होइन । यहाँ सवाल वैचारिक बहसको हो संघर्षको हो । सिंगो कम्युनिष्ट पार्टीको रुपान्तरणको हो । नयाँ क्रान्तिकारी पार्टी निर्माण गरेर सिंगो समाजलाई नयाँ दिशातिर लैजाने सवाल हो । यो एकले अर्कोलाई खाने सवाल होइन बरु क्रान्तिकारीहरु अझ एकताबद्ध बनाएर अघि बढने सवाल हो ।

एकले अर्कोलाई निल्ने कुरा प्रतिक्रियावादीको सन्दर्भमा माओले भन्नुभएको थियो । क्रान्तिकारीहरुले च्याङकाईसेकहरुलाई पचाईदिने कुरा गर्नु भएको थियो । विभिन्न अवसरवादी धाराका सन्दर्भमा पनि उहाँले यसो भन्नु भएको थियो । साथसाथै वैज्ञानिक माक्र्सवादीे सिद्धान्तले एकता, संघर्ष र रुपान्तरण अर्थात् नयाँ आधारमा एकता भन्ने गरेको छ । पचाउने वा रुपान्तरण र नयाँ आधारमा अर्को उचाइँमा एकता गर्ने कुराबीच द्वन्द्वात्मक सम्बन्ध हुने गर्छ । हामी संघर्ष, रुपान्तरण र नयाँ आधारमा हुने एकताद्वारा मानवसमाजलाई नयाँ गति दिन चाहन्छौ । जरुरी पर्दा अर्काे प्रवृत्तिलाई पचाउने कुरा पनि गर्छौ । नेपालको कम्युनिष्ट आन्दोलनमा माओवादी धाराको बिकास भएपछि विभिन्न रुपमा यसको अभ्यास भएको छ ।

तीसको दशकमा नेपाली कम्युनिष्ट आन्दोलनमा चौथो महाधिवेशनको एउटा धारा थियो भने अर्को अहिलेको एमालेको पूर्व रुप मालेकोे धारा थियो । तत्कालिन माले तुरुन्त हतियार उठाउनुपर्छ भन्ने पक्षमा थियो भने चौथो महाधिवेशन जनस्तरमा संगठन निर्माण गरेर मात्र हतियार उठाउनु पर्छ भन्ने पक्षमा थियो । त्यसबेला मालेले चौथो महाधिवेशनलाई खतरानाक संशोधनवादी धारको रुपमा चित्रित गरेको थियो भने चौमले मालेलाई उग्रवामपन्थी आतंककारी पार्टीको रुपमा लिन्थ्यो त्यतिबेला मालेभित्र यस्तो उग्र प्रवृत्ति हावी थियो कि कसैले चिनियाँ कम्युनिष्ट पार्टीकोे अध्यक्ष कसरी नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष हुनसक्छ भनेर प्रश्न ग¥यो भने उसलाई सोझै संशोधनवादी गद्दारको उपमा दिइन्थ्योे । तर, मालेले २०२८ सालमा शुरु गरेको ‘सामन्त सफाया’ अभियान र उसको सोच्ने तरिका दश वर्ष नपुग्दै रुपान्तरण भयो । उग्र ढंगले सोच्ने माले सुधारवादतिर गयो । संशोधनवादीको आरोप खेपेको चौमले जडशुत्रवादीको आरोप झेल्नु प¥यो । माले पञ्चायतलाई उपयोग गर्ने भन्दै चुनावमा भाग लिन थाल्यो । चौम बहिस्कारको अभियानमा लाग्यो । केही समय २०४६ सालमा जनआन्दोलनताका सँगसँंगै जस्तो भए पनि माले संसदीय अभ्यासमा लाग्यो भने संशोधनवादको आरोप लागेको चौथो महाधिवेशन मशाल, एकताकेन्द्र हुँदै नेकपा माओवादीको रुपमा रुपान्तरित भयो र नेपालमा जनयुद्धको सुरुवात भयो ।

अहिले फेरी एकपटक आफूभित्रको जडतालाई छिचोल्दै एकताका लागि हामी सैद्धान्तिक छलफल गर्दैछौ । यो एकता प्रक्रियालाई हामीले समाजवादी क्रान्ति सम्पन्न गर्ने अभिभारासँग जोडनु पर्छ । ठूलो संसदीय पार्टी त हामी अलग–अलग भए पनि हुन सक्थ्यौँ । एकतापश्चात पुरानै खालको संसदीय पार्टीमा रुपान्तरण हुने हो भने एकताको अर्थ रहँदैन । त्यसैले एकताको सवाललाई हामीले नयाँ ढङ्गको कम्युनिष्ट पार्टीको निर्माणसँग जोडेर वहस गर्न पर्छ । एक्कासौँ शताब्दीमा गरिने समाजवादी क्रान्तिको मोडेल कस्तो हुनसक्ला ? वहस त्यता केन्द्रित गर्नु पर्दछ । नयाँ ढङ्गको कम्युनिष्ट पार्टीको सांगाठनिक संरचना र यसको संचालनको बिधि कस्तो हुनुपर्छ ? त्यस्तो कम्युनिष्ट पार्टीको नेतृत्वको बिकास कसरी गर्न सकिन्छ ? छलफल त्यतातिर केन्द्रित गर्न जरुरी छ । नयाँ प्रकारको समाजवादी व्यवस्थाको अर्थतन्त्र,संस्कृति र सामाजिक चरित्र कस्तो हुने ? चौतर्फी विर्मश गर्न जरुरी छ । हामीले यो एकता प्रक्रियालाई लघुताभाषमा किचिएर संकुचन गर्नु हुँदैन । एउटा यूगिन अभिभारा पूरा गर्ने लक्ष्यका साथ छलफल र बहस चलायौँ भने मात्र एकतालाई सार्थकतामा पु¥याउन सकिन्छ ।

(पार्टी प्रशिक्षण कार्यक्रममा गरिएको सम्बोधनको अंश )