आर्थिक समृद्धि सरकारको प्राथमिकतामा– मन्त्री अधिकारी

                               

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकको आर्थिक विकास र समृद्धि सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पोखरा महानगरपालिका–११ द्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संस्कृतिले समृद्धि र भावनात्मक एकतालाई बलियो बनाउने बताए ।

मुलुकको सबै क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको कारण आर्थिक वर्षको तीन महीनामा ३४ प्रतिशतले पर्यटनमा वृद्धि भएको जानकारी दिँदै मन्त्री अधिकारीले मन्त्रालयले पर्यटन पूर्वाधारमा जोड दिँदै आएको उल्लेख गरे । नेकपा स्थायी समिति सदस्य सोमनाथ अधिकारी (प्यासी)ले तिहारपछि लगत्तै पार्टी व्यवस्थित गरेर सरकारलाई प्रभावकारी बनाउने बताए । नेकपा केन्द्रीय सदस्य राजकाजी गुरुङले निर्वाचनमा पार्टीले जनतासमक्ष गरेको प्रतिबद्धता पाँच वर्षभित्र पूरा गर्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले विकास निर्माणका कार्यमा जनता सचेत हुनुपर्नेमा जोड दिए । नेकपा पोखरा–११ संयन्त्र सदस्य नारायणप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कराँते राष्ट्रिय खेलाडी विष्णु नेपालीलगायतले मौलिक संस्कृति र विभिन्न पर्वले समाजलाई एकताबद्ध बनाउँदै आएको बताए ।