उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

                               

काठमाडौं – मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भएको छ । सोमबार कात्तिक शुक्ल पञ्चमी तिथिको बेलुका सख्खरमा पकाइएको खिर मात्र खाएर खरना विधि सम्पन्न गर्दै निराहार ब्रत थालेका ब्रतालुले आज उदाउँदो सूर्यलाई दोश्रो अघ्र्य दिँदै छठ सम्पन्न गरेका हुन् ।

सप्तमीका दिन बिहान सूर्यलाई दिइने अघ्र्यलाई मिथिलाञ्चलमा ‘भोरका अरख’ भन्ने गरिन्छ । मङ्गलबार षष्ठी तिथिका दिन साँझ ब्रतालुले पवित्र जलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका थिए ।

साँझको सूर्यलाई दिइने अघ्र्यलाई मिथिलाञ्चलमा ‘सझुका अरख’ भनिन्छ । सोमबार साँझ ‘खरना’ विधि सम्पन्न गरेर निराहार ब्रत थालेका ब्रतालुको उपवासको समय आज बिहान सूर्योदय हुँदासम्म झण्डै ३६ घण्टा भएको छ ।

आइतबार कात्तिक शुक्ल चौथीका दिन ‘नहाय खाय’ विधिबाट ब्रत सङ्कल्प गरेका ब्रतालुले आज चौथो दिन छठ सम्पन्न गरेका हुन् । छठ सम्पन्न भएसँगै ब्रतालु परिवारजनसँगै पानीघाटबाट घर फर्केपछि प्रसाद खाने ख्वाउने क्रम शुरु भएको छ ।