रुकुम पश्चिममा जिप दुर्घटना , एक जनाको मृत्यु ,एक जना घाइते

                               

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–३ दहखोलामा आज बेलुकी जिप दुर्घटना हुँदा जिप चालक आठबिसकोट नगरपालिका–१ का २८ वर्षीय टेकमान विकको मृत्यु भएको हो ।

स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको लु१ज २६६८ नम्बरको जिप दुर्घटना हुँदा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दुर्घटनामा परी विककी पाँच वर्षीया छोरी पार्वती गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएकी छन् ।

घाइते विकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदैछ । जिप सडकबाट करीब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । विक जिप लिएर नेपानेमा रहेको ससुरालीमा जाँदै गर्दा दुर्घटना भएको बताइएको छ ।