न्यायका निम्ति धर्ना बसेका निर्मला पन्तका आमाबुबा बिरामी

                               

महेन्द्रनगर । छोरीको न्यायका निम्ति धर्ना बसेका निर्मला पन्तका आमाबुबा बिरामी परेका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुख्य प्रवेशद्वार अगाडि यही कार्तिक २५ गतेदेखि अनिश्चितकालीन धर्नामा बसेका उनीहरु चिसोका कारण बिरामी परेका बताइएको छ ।

महाकाली अञ्चल अस्पतालका चिकित्सकको एक टोलीले बिहीबार धर्नास्थल पुगी उनीहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।

यता निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ । प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर अनुसन्धान थालेको हो । उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् ।