ग्यास ट्यांकर दुर्घटनामा दुईको मृत्यु

                               

धादिङ । पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारमा ग्यास बुलेटले ठक्कर दिँदा आज दुई बटुवाको मृत्यु भएको छ । भारतबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ७५ एजे ५२०८ नम्बरको एलपी ग्यास बोकेको ट्यांकरले सडक किनारमा हिँडिरहेका बेनीघाट रोराङ –५ निवासी ३५ वर्षीया गीता नेपाली र उनकी छोरी २१ वर्षीया सुनीतालाई ठक्कर दिँदा घाइते भई उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

बटुवालाई ठक्कर दिएपछि ग्यास बुलेट २० मिटर तल पुगेको छ । पल्टेको बुलेटबाट ग्यास चुहिएर सो क्षेत्रमा त्रास पैदा भएको सोही स्थानका शिक्षक राममणि थपलियाले बताए । प्रहरीले प्राविधिक टोलीको सहयोगमा चुहिएको ग्यास टाल्ने काम गरिरहेको प्रनाउ महतोले बताए । बुलेट ट्यांकर चालकलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।