हेलीकप्टेर मार्फत उद्धार गरिएका बालकको उपचारका क्रममा मृत्यु

                               

राजिव कार्की
कार्तिक १९,रामेछाप – आईतबार दिउँसो हेलिकप्टेरमार्फत उद्धार गरि काठमान्डौ लगिएका एक बालको उपचारका क्रममा मृत्यु भएको छ । रामेछाप जिल्लाको प्रितिस्थित मामाको घर गएका सिन्धुली जिल्लाको जयरामटारका ४ वर्षिय बालक मन्दीप तामाङको उपचारको क्रममा काठमाडौं महाराजगञ्जस्थित कान्ती बाल अस्पतालमा मृत्यु भएको हो । आइतबार बिहान बालक एक्कासी बेहोस भएपछि हेलीकप्टरमार्फत उद्धार गरी उनलाई उपचारका लागी काठमाडौंको कान्ती बालअस्पतालमा भर्ना गरिएको थियो ।

रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रितीस्थित मामाघरमा दशैंको टिका लगाउन गएका मन्दिप दशैदेखि नै मामाको घरमै थिए । मन्दीप बेहोस भएपछि उनका मावलीका परिवारले उद्धार र थप उपचारको लागि नेपाली काँग्रेसका नेता एवं नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) लाई खबर गरेका थिए ।

बालक बेहोस भएको खबर पाएपछि हेलिकोप्टर लिएर गाउँ पुगेका कान्छारामले बालकलाई हेलीकप्टरबाट उद्धार गरी अस्पताल पुराएका थिए । उपचारको क्रममा बालक मन्दीपको मृत्यु भएको कान्छारामका स्वकीय सचिव सुरेश सुवेदीले पुष्टि गरे ।

पाँच दिन अघि पनि सोही ठाउँमा अरिगालंको टोकाइवाट गम्भीर घाइते भएका एकै परिवारका तीनजनालाई कान्छाराम आफैले हेलिकोप्टर मार्फत उद्धार गरि बचाएका थिए । राजनीतिकसँगै सामाजिक काममा पनि सक्रिय कान्छारामले यसअघि पनि विपद्मा परेकाहरुलाई पटक–पटक हेलिकोप्टर मार्फत उद्धार गरेर सहयोग गर्दै आएको उनका स्वकीय सचिव सुरेश सुवेदीले बताए ।