बिदेशमा प्रदर्शनको तयारीमा मौलिक फिल्म म्हेन्दू

                               

हिमाली जनजीविकाको यथार्थता चित्रण गर्ने मौलिक नेपाली चलचित्र म्हेन्दू प्रदर्शनको अन्तिम तयारीमा पुगेको छ । डोल्पा लगायतका विकट हिमाली जिल्लामा छायांकन गरिएको नेपाली कथानक चलचित्र ‘म्हेन्दु’ सम्पादन लगायत सबै काम सकी प्रर्दशनको अन्तिम तयारीमा पुगेको निर्माता अर्जुन प्रसाद डोटेलले बताएका छन् ।

चलचित्र “म्हेन्दू” मा भोला दीप तिमल्सिना, रमेश सोडारी, दिपक डोटेल , सोनु राई, शान्ति घिसिङ्ग , राजकुमार श्रेष्ठ, बाबुराम शाक्य, बिन्दा थिङ्ग, कालु राना , प्रतीक्षा खतिवडा, लक्ष्मण देबकोटा , राम न्यौपाने लगाएतको उत्कृष्ट अभिनय रहेको छ ।

सुन्दर , प्यारो वा आफ्नो भन्ने अर्थ जनाउने चलचित्र म्हेन्दूको अब काठमाडौँ , डोल्पा ,पोखरा लगायत ठाउमा च्यारीटी शो गर्ने र त्यसपछि दक्षिण कोरिया ,अमेरिका , बेल्जियम ,अस्ट्रेलिया, दुबई, कतार, मलेसिया, जापान लगायतका देशमासमेत प्रर्दशन गर्ने तयारी भइरहेको चलचित्रका कार्यकारी निर्माता चन्द्रमणि मुडभरीले बताएका छन् ।

करिब १ करोड लागतको हाराहारीमा बनेको चलचित्र “म्हेन्दू” मा निर्देशक देब नेपालको निर्देशन रहेको छ । त्यस्तै चन्द्रमणि मुडभरी कार्यकारी निर्माता हुन् भने बुद्धिमान तामाङ सह निर्माता, सुदीप डोटेलको प्रस्तुती, रोहित विक्रम कार्की छायाँकार र द्वन्द निर्देशक राजु किरातको हो ।

फिल्ममा भौगोलिक विकटताको कारण सामान्य औषधी उपचार नपाएर ज्यान गुमाउपर्ने हिमाली बस्तीका स्थानीयको वास्तविकतालाई देखाइएको छ। चलचित्र उच्च हिमाली भेगका रहन-सहन, रितिरिवाज, भेषभूषामा रंगीन पर्यटकीयस्थल र भौगोलिक सास्कृतिक सम्पदासँग जोडिएको छ । चलचित्रमा सरोज कोइरालाको संगीत रहेको छ ।

यसरी सौन्दर्ययुक्त प्राकृतिक काखमा लुटपुटिएको सचित्र दृष्यले भरिपूर्ण चलचित्र “म्हेन्दू” सायद यो नै नेपालको पहिलो हो। यसको सम्पादन कार्य तीब्र रुपमा भैरहेको छ र चाँडै नै बजारमा आउने पनि निर्माता डोटेलले जानकारी दिए । “म्हेन्दू” एक ऐतिहासिक रुपमा नै निर्माण भएको र यस चलचित्रले विश्व बजारमा नै दख्खल दिने पनि निर्माताको दाबी छ। चलचित्रलाई देव नेपालले निर्देशन गरेका हुन् ।