यी बलिउड ब्युटी फर्कदैछन फिल्ममा

                               

यो वर्ष थुप्रै बलिउड ब्युटी लामो अन्तरालपछि ठूलो पर्दामा कमब्याक गर्दैछन्। विविध कारणले फिल्मबाट ब्रेक लिएका बलिउड नायिकाहरू सन् २०१८ मा रिलिज हुने विभिन्न फिल्मबाट ठूलो पर्दामा देखिने भएका हुन्।यो सूचीमा नायिका करिना कपुरको नाम अग्रस्थानमा छ। जुन १ बाट रिलिज हुने ‘विरे दी वेडिङ’ बाट सिल्भर स्क्रिनमा फर्किंदै छिन् बलिउड बेबो उर्फ करिना कपुर। शशांक घोषद्वारा निर्देशित फिल्म ‘विरे दी वेडिङ’ मार्फत करिना दुई वर्षको वि श्रामपछि सिनेमाको पर्दामा फर्कंदै छिन्। करिना सन् २०१६ सालको अन्त्यतिर ‘उड्ता पन्जाब’ मा देखिएकी थिइन्।

छोरा तैमुर जन्माउन करिनाले फिल्मबाट ब्रेक लिएकी थिइन्। यो फिल्ममा करिनाले सोनमक कपुर र स्वरा भाष्करका साथ स्क्रिन सेयर गर्दै छिन्। फिल्मको टेलरमा यी सबै नायिका निकै बोल्ड देखिएका छन्। सेन्सर बोर्डद्वारा ‘ए’ सर्टिफिकेट पाएको यो फिल्ममा करिना निकै विन्दास अन्दाजमा देखिने छिन्।

यसैगरी काजोलको पनि पर्दामा फर्कने मिति तय भएको छ। प्रदीप सरकार निर्देशित फिल्म ‘इला’ बाट काजोल १४ सेप्टेम्बरमा सिल्भर स्क्रिनमा देखिने छिन्। यो फिल्म काजोलका पति अजय देवगनले निर्माण गर्दैछन्। फिल्ममा राष्ट्रिय पुरस्कार विजेता रिद्धिसेन काजोलको छोराको भूमिकामा छन्। यो फिल्ममा काजोल एकल महिलाको भूमिकामा देखिँदै छिन्। फिल्म खेल्ने विषयमा काजोल निकै चुजी छिन्। सन् २०१५ मा उनी शाहरुख खानको फिल्म ‘दिलवाले’ मा देखिएकी थिइन्।

रंगीला गर्ल उर्मिला मातोन्डकर १० वर्षपछि हिन्दी सिनेमाको पर्दामा देखिने भएकी छन्। इमरान खानको फिल्म ‘ब्ल्याकमेल’ मा उर्मिलाले स्पेसल डान्स गरेकी छन्। पछिल्लो समय २००८ उनी ‘ईएमआई’ फिल्ममा देखा परेकी थिइन्।

माधुरी दीक्षित पनि यस वर्ष ठूलो पर्दामा देखिने भएकी छन्। माधुरीको कमब्याक पनि ठूलो पर्दामा चार वर्षपछि हुन लागेको हो। इन्द्र कुमारले निर्देशन गर्न लागेको फिल्म ‘टोटल धमाल’ मा माधुरी विशेष भूमिकामा देखिने भएकी छन्। फिल्ममा उनका पुराना कोस्टार अनिल कपुर पनि छन्। सन् २०१४ मा ‘गुलाब ग्याङ’ र ‘डेढ इस्किया’ मा उनी लिड रोलमा देखिएकी थिइन्।

ऐश्वर्या रायका फ्यानले पनि उनलाई छिट्टै ठूलो पर्दामा देख्न पाउने भएका छन्। २०१६ मा उनलाई ‘जज्बा’ र ‘ऐ दिल है मुस्किल’ मा देखिएको थियो। अब यो वर्ष ‘फन्ने खान’ फिल्मबाट उनी ठूलो पर्दामा देखिने भएकी हुन्।

लामो ग्यापपछि नायिका प्रीति जिन्टा पनि छिट्टै नै ठूलो पर्दामा देखिँदै छिन्। प्रीति सनी देओलको साथमा ‘भैया जी सुपरहिट’ बाट ठूलो पर्दामा आउँदै छिन्। २०१३ मा उनी ‘इस्क इन् पेरिस’ मा मुख्य भूमिकामा देखिएकी थिइन्। ‘भैया जी सुपरहिट’ बाटै अमिशा पटेल पनि पाँच वर्षपछि कमब्याक गर्दैछिन्।

यो वर्ष कमब्याक गर्ने सूचीमा नायिका मनीषा कोइराला पनि छिन्। बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा बनेको चलचित्र ‘सञ्जु’ मार्फत मनीषा कमब्याक हुँदै छिन्। उनी यो फिल्ममा सञ्जय दत्तकी आमा नरगिसको भूमिकामा देखा पर्नेछिन्। सञ्जय दत्तको भूमिकामा भने अभिनेता रणवीर कपुर देखिँदैछन्। एजेन्सी