“ओलीलाई सुनाईदिनू – पहिले पैसा कमाउनू, पैसा कमाउने ठाउँ बनाउनू”

                               

म यसपटक लामो समयपछि मामाघर विराटनगर पुगेको थिएं । मेरो माईला मामा नब्बे वर्षमा हिंड्दै हुनुहुन्छ । हिड्डुल गर्ने र अन्य शारीरिक तन्दुरुस्ती कायम भए पनि मामा कान चाहिं पटक्कै नसुन्ने । ९० बर्षका मामालाई भेट्दा र आमासरह उहाँको वात्सल्य पाउँदा मलाई पनि घर पुगेकै झझल्को आएको थियो । सामान्य पारिवारिक सञ्चविसञ्चोबाट कुराकानी सुरु भयो ।
“भाञ्जा त निक्कै मोटाउनु भएछ । ३० बर्ष पहिले ओठ निचोर्दा आमाको दूध आउने बेलामा तपाईं जेल बसेको बेलाको तपाईंको फुकिढल शरीरको मात्र याद आईरहन्छ मलाईं । पुलिसले कुटेका सुम्ला ।”
मैले टाउको हल्लाएं ।
मामाको संस्मरण सुनाउन थाल्नुभयो ।
“०४५ सालमा राजाको विरोध गरेर राजकाज मुद्धामा विराटनगरमा तपाईं जेल परेपछि दिदी मसंग रोएको सम्झना छ मलाई । विराटनगरको जेलमा तपाईंलाई भेट्न आउँदा, फलामे बारभित्र देख्दा मेरो पनि आँसु थामिएन ।”
मलाई पनि जेलको अनुभव सुनाउन मन थियो तर मेरो कुरा मामाले सुने पो ।
मैले टाउको हल्लाउदै सुनिरहें ।
मामाको संस्मरण रोकिएन ।
“शुरुमा त मलाई पनि राजनीतिमा लागेर भानिजले आफ्नो जीवन किन बर्बाद पारेको होला भन्ने लागेको थियो । तपाईंका गाउँका त्यतिबेलाका जल्दाबल्दा पञ्चहरुले त एउटा नक्स्लाइट ठेगान लाग्यो भनेर हर्षोल्लास गरेछन् । तर पछि जब मदन भण्डारी र मनमोहनको पार्टीमा लागेको थाहा पाएपछि मात्र म ढुक्क भएं ।”
“के चल्दैछ त काठमाण्डौमा राजनीति ?” विषय समसामयिक राजनीतितर्फ मोडियो ।
मैले “ठीकैछ”को हाउभाउ देखाएं ।
मामाको अनुहारमा एक्कासी आक्रोस देखियो ।
“हाम्रो कहिल्यै भलो हुदैन बुझ्नुभो ।” मामा कड्किनुभयो । “गणतन्त्र ल्याएर के भो ? राजा फालेर मात्र हुन्छ ? अब त अलिकति बुद्धि पलाउनु पर्यो नि । ”
मैले जिज्ञासाको भाव तेस्र्याएं ।
“ कम्युनिष्ट पार्टीको हातमा बल्लबल्ल सत्ता आएको छ । हामी तन्नेरी हुँदा चीनमा त्यहाँका नेता नाम केरे ?”
“माओत्सेतुङ्ग”—मैले भनें ।
“अँ माउसेतुङ्गले सत्ता लिदा त्यतिबेलाका यहाँका टाठाबाठाले उनको गुणगान गरेको सुनेर म हाम्रो देशमा पनि कम्युनिष्ट शासन आए कस्तो हुन्थ्यो भनेर सोच्थें । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा मेरा हड्डी हासेका थिए । हामीजस्ता बुढाबुढीलाई सहारा दिने र सम्मान दिने मनमोहन अधिकारीलाई जबरजस्ती हटाए । कामै गर्न दिएनन् । अहिले ओलीलाई पनि काम गर्न नदिन चौतर्फी धेराबन्दी भएको देख्छु म त । राजनीतिमा पनि अलिकति धर्म त होला नि । राजनीति भन्दैमा जे पनि गर्न त कसरी मिल्ला र ?”

 

विराटनगरदेखि कलकत्तासम्म नाम चलेका ज्योतिष विद्यामा प्रख्याती कमाएका मेरा मामा राजनीतिमा प्रत्यक्ष सहभागी कहिल्यै हुनुभएन । तर चुनावको बेला पार्टीलाई दिलो ज्यान लगाएर खट्ने उहाँको स्वभाव छ । विराटनगरमा मामा लट्ठी टेकेर चुनावमा घर दैलोमा हिडेको कुरा माईजुले सुनाएपछि राजनीतिले मानिसलाई जीवनभर नछोडेको र जनतामा नेपाल कम्युनिष्ट पार्टीको चुम्बकीय आकर्षण देखेर म अचम्वित भएको थिएं । मसंग धीत मर्ने गरी राजनीतिको बारे गफ गर्ने मामाको मुड देखेपछि आफ्ना कुरा लेखेर भए पनि वार्तालाप अगाडि बढाउन म तम्सिएं ।
“ओलीले समृद्धिको नारामात्र दिए, केही काम गर्न सकेनन् भनेर आलोचना शुरु भएको छ मामा”— मामा कान नसुन्ने भएकोले एउटा चिर्कटोमा लेखेर देखाएं ।
एउटा सिङ्गै पिपलको रुखजस्तो देखिने उहाँको अनुहारमा एक्कासी रीस दगुरेको देखियो ।
”देश धनी हुनलाई सबभन्दा पहिले के चाहिन्छ ?”मामा कड्कनु भयो ।
“पैसा”—मैले भने ।
“देश विकास गर्न पैसा हामीले नै जम्मा गर्नु पर्यो होइन त ?”
“हो । ढुकुटी भर्नु पर्यो पहिले ।”
“हेर्नुस् भाञ्जा म त धेरै राजनीति बुझ्ने मानिस होईन । देशको ढुकुटी बलियो नबनाई देशको विकास र समृद्धि केही आउदैन । आज कमाएको आजै सिद्धयाएर ऋण काढेर दशैतिहार मान्नेहरु रातारात धनी भएको कतै देख्नु भएको छ ?”
“छैन” —निरीह पाराले जवाफ दिएं मैले ।
“हो, यही कुरा ओलीलाई भन्दिनू । साच्चै देश बनाउने हो भने पहिले पैसा जोगाउनू, पैसा कमाउने बाटो खोज्नू । नत्र खल्तीमा एक पैसा नहुनेले गगनुचुम्बी महल बनाउने गफ गरेजस्तो होला फेरि ।”
जीवनमा अनुभवको मूल्य के हो भन्ने महसुस भयो मलाई । भेट्ने मौका मिले यी मामाका शब्द जस्ताको तस्तै प्रधानमन्त्री ओलीलाई सुनाउदा देशको लागि भलै हुने थियो । राजनीतिक नारा र देशको वास्तविकतामा कति फासला छ हामीकहाँ ।
मामाको राजनीतिक गफ लामै जानेवाला थियो । तर मेरो अन्य ब्यस्तताले मामासंग लामो समय बिताउन सकिन । म मामाबाट छुट्टिएं । तर, मामाका ती शब्दहरुले लामो समयसम्म मेरो मनमष्तिष्कमा घण्टी बजाइरहे । बजाइरहेछन् ।